दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने

राजीव गुरुङ ऊर्फ दीपक मनाङेलाई प्रदेशसभा सदस्यको सपथ लिन रोक लगाइएको छ । गण्डकी प्रदेशका प्रदेशसभाले कानुनअनुसार सपथ गराउन नमिल्ने निर्णय लिएको हो । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा समिति सभापति समेत रहेनुभएका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत रहँदै आएको छ । सभामुख अधिकारीले यसअघि पनि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक राख्नुभएको थियो ।

आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो ।सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारीले राजनीतिक दल तथा कानुनविद लगायतसँग परामर्श गर्नुभएको थियो ।


मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका थिए। मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा रहेका छन् । प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउने अनुमान धेरैले गरेपनि गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालिएको हो ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । २०७४ साल मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी निर्वाचित भएका थिए ।

Facebook Comments