चर्को ब्याजदर घटाउन होटल संघद्वारा राष्ट्रबैंकको ध्यानाकर्षण

होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संघको एक टोली मंगलबार नेपाल राष्ट्र बैंक पोखरा शाखा पुगेको थियो ।
शाखा प्रमुख निर्देशक पोमनाथ गौतम मार्फत् संघले केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवि नेपाललाई ज्ञापनपत्र बुझाउँदै विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्याधिक रहेको भन्दै न्यूनतम तीन प्रतिशत कायम गर्न अनुरोध गरेको थियो । गौतमलाई समेत संघले सोही व्यहोराको छुट्टै ज्ञापनपत्र बुझाएको थियो ।
होटल तथा पर्यटन व्यवसाय दिर्घकालिन रुपमा प्रतिफल प्राप्त गर्ने व्यवसाय भएका कारणले पनि राष्ट्रले प्राथमिकता प्राप्त उद्योग सरह सहुलियत तथा स्थिर व्याजदरमा कर्जा प्रवाह गर्नु पर्ने देखिन्छ– ज्ञापनपत्रमा भनिएको छ– वैंक तथा वित्तीय संस्थाहरुले वर्तमान अवस्थामा गर्दै आएको मनोमानी सुधार नभए सम्पूर्ण व्यवसाय धारासायी हुने निश्चित छ ।
यसैगरी नेपालको आर्थिक वृद्धिदर तथा कूल ग्राहस्थ आम्दानीमा पर्यटन क्षेत्रबाट महत्वपूर्ण योगदान रहेको तथा ठुलो राशीको कर भुक्तान गर्ने एवम् विदेशी मुद्रा आर्जन गर्ने सबै भन्दा ठुलो उद्योग पनि होटल क्षेत्र रहेको संघका अध्यक्ष तुलाचनको दावी रहेको छ ।
त्यसैले पनि अस्थीर थेग्नै गाह्रो पर्ने ब्याजदरको विषय शीघ्र समाधान गरी पर्यटन क्षेत्रमा भएको लागानीलाई संरक्षण गर्दै नेपाल राष्ट्र बैंकबाट पर्यटन मैत्री वातावरण निर्माणको अग्रणी भूमिका एवं पहलकदमी लिन संघले अनुरोध गरेको छ ।
सरकारले अन्य उद्योग सरह पर्यटन व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनु पर्ने भन्ने आवाज उठिरहेको अवस्था विद्यमान रहेको पनि ज्ञापनपत्रमा स्मरण गराइएको छ । नेपालमा प्रजातन्त्रको उदय पश्चात् नेपालका पर्यटन व्यवसायीहरुल राजनीतिक अस्थिरता, बन्द हड्ताल, दश वर्षे विद्रोह, मजदुर आन्दोलन, भूकम्प, नाकाबन्दी, भारतीय नोटबन्दी लगायत विविध समस्या झेल्दै आएको संघले स्मरण गराएको छ ।
सन् २०२० सम्म पोखरा लगायत देशका विभिन्न भागमा अन्तर्राष्ट्रिय स्तरका दर्जनौं तारे होटल, रिसोर्ट तथा स्तरीय होटलहरु खुल्ने क्रममा छन् । यस स्थितिमा बैंकहरुबाट गरिएको कर्जाको प्रतिफल के हुने हो भन्ने चिन्ताको विषय रहेको अध्यक्ष तुलाचनको भनाई छ ।
माओवादी विद्रोहको समाप्तिपछि शान्ति प्रक्रियामा रुपान्तरित हुँदै गरेको तरल राजनीतिक परिस्थितिमा समग्र आर्थिक स्थिति जर्जर रही पोखरा स्थिति कैयन नाम चलेका थुप्रै होटल प्रतिष्ठानहरुको पलायन हुनबाट रोकी पर्यटनको मुख्य आधार होटल व्यवसायलाई टेवा दिँदै, होटल व्यवसायमा सम्वृद्धि ल्याई आपसी औद्योगिक सम्बन्धलाई मजबुत बनाउँनु पर्ने सुझाव समेत संघको रहको छ ।

