काँग्रेस सभापति देउवा विरुद्ध नेता पौडेल र सिटौला समूहको मोर्चाबन्दी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले मोर्चाबन्दी गर्ने भएका छन् । देउवा ईतरका समूहले सभापतिको कार्यशैलीविरुद्ध एक भएर लाग्ने सहमति गरेका छन् ।
देउवा पक्ष बाहेक सबै पक्षको आज नेता प्रकाशमान सिंहको निवास टाक्सीबारीमा भएको भेलाले पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने निर्णय गरेको हो । भेलामा नेताहरु कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसीसहित सहभागी हुनुहुन्थ्यो ।
भेलाले सभापति देउवाले बहुमतका आधारमा एकलौटी रुपमा पार्टी चलाउन खोजेको, महासमितिको निर्देशनलाई समेत अटेरी गरेको, भातृ संस्थालाई पंगु बनाउन अधिवेशन नगराउन खोजेकोसहितको आरोप लगाएको छ । यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय बैठकमा सहभागि एक नेताले बताएका छन् । महासमितिको बैठकलाई अटेरी गर्ने काम गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

