फेवा महोत्सवलाई विभिन्न संघसंस्थाले सघाउने

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ लाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले व्यक्त गरेका छन् ।

महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा स्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र प्रतिनिधिसँग शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले महोत्सवमा सुरक्षा, सरसफाई, मूल्य नियन्त्रण, मिडिया सेन्टर मार्फत महोत्सवको समन्वय र अनुगमनको पाटोलाई बढी ध्यान दिन सुझाव दिएका थिए ।

सो अवसरमा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले संस्थाद्वारा हालै नेपालका चार मुख्य शहरमा संचालन गरेको ‘जाउँ है पोखरा’ अभियान र सो अवसरमा फेवा महोत्सवका बारेमा गरिएको प्रबद्र्धनात्मक कार्यक्रम र निमन्त्रणाका बारेमा जानकारी गराउनुभएको थियो । महोत्सवका अवसरमा संचालन गरिने गतिविधि, महोत्सवका आकर्षण र हालसम्म भएका प्रगति बारे समेत अध्यक्ष तुलाचनले प्रष्ट पार्नुभयो ।

संस्कृति, खाना र संगीतको पाटोलाई केन्द्रमा राखी संघले यो पटक आयोजना गर्ने तीन दिने महोत्सवमा विभिन्न नेपाली खानाको प्रदर्शन र विक्री, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता र गीतसंगीतका कार्यक्रम समेटिएको संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो ।

नेपाली संस्कृति र सेफहरुको संस्थासँग सहकार्य गर्दै पकवानको पक्षलाई यो पटक महोत्सवमा बढी जोड दिइएको छ । महोत्सवको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले महोत्सवले पोखरा र वरपरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहाकार विश्वशंकर पालिखे, अर्का पूर्व बोर्ड सदस्य अग्नी कँडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरिञ्जीवि पोखरेल, पोखरा महानगर वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य हरिकृष्ण पहारी, अर्का वडा सदस्य विष्णुबहादुर भट्टराई, टान पश्चिमाञ्चल संघका अध्यक्ष हरि भुजेल, रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, बुक सप एशोसिएशनका प्रेम शर्मा पौडेल,वटेफकी उमा भण्डारी, एगाका शंकरप्रसाद भण्डारी, टेसाका रामचन्द्र गिरी, पर्यटन सवारी सम्बन्धि संस्थाका वोवरजंग गुरुङले लगायतले महोत्सवलाई सफल बनाउन सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

Facebook Comments