नयाँ शक्तिले नेकपा, काँग्रेस र राप्रपा बाहेकसँग सहकार्य गर्ने
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका राजनीतिक पार्टीसँग नयाँ शक्ति पार्टीले सहकार्य गर्ने बताउनुभएको छ । उहाँले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आफूले नयाँ शक्ति पार्टी सुविचारित ढंगले निर्माण गरेको बताउनुभयो ।
नेता भट्टराईले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यो कुनै लहड, आवेग वा आवेशमा होइन, विश्व नयाँ चरणमा प्रवेश गरेको छ । विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, सुचना प्रविधिमा आएको गुणात्मक परिवर्तनलाई मध्यनजर गरेर नै राजनीतिक विचार र पार्टी विचार र एजेण्डको बाहक भएकाले व्यवहारिक रुपमा नयाँ शक्तिको आवश्यकता महशुस गरेर पार्टी गठन गरेको हो ।’
आफूले विचारबारे बुझ्न अमेरिका, युरोप, मलेसिया लगायतका मुलुकको भ्रमण गरेको र पछिल्ला विचार लागू गर्न र आफ्नो मुलुकको बस्तुस्थिति बुझ्नका लागि पूर्वदेखि पश्चिमसम्मको जनसंवाद यात्रा गरेको उहाँको भनाई थियो । नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास गराउने अभियानमा नै क्रियाशील रहेको उहाँको भनाई थियो ।

यो सरकारले आफूले आफैंलाई असफल भएको स्वीकार गरिसकेको नेता भट्टराईको जिकीर थियो । आफ्ना नीति कार्यक्रम र बजेट कार्यान्वयन हुन नसक्ने विषय स्वयं सरकारले स्वीकार गरेको उहाँको तर्क रहेको थियो । प्रदेश र स्थानीय सरकारलाई काम गर्ने वातावरण समेत सरकारले बनाउन नसकेको, कतिपय बनेका कानुन संघीयताको मर्मविपरीतका प्रावधान राखिएको भट्टराईको आरोप रहेको थियो ।
प्रधानमन्त्रीमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने, सेना परिचालन प्रधानमन्त्रीले एकल ढंगले गर्ने, ठूला परियोजनालाई प्रधानमन्त्री मातहत ल्याउने लगायतका क्रियाकलापले लोकतन्त्रको रक्षा विपरीत भएको उहाँको भनाई थियो । सरकार लोकतान्त्रिक प्रणाली विपरीत शक्ति केन्द्रीकरण गर्ने, आर्थिक विकास र समृद्धिको क्षेत्र असफल, भ्रष्टचार नियन्त्रण असफल र परराष्ट्र नीति समेत असन्तुलित बन्दै गएको उहाँको भनाई थियो ।
नयाँ राजनीतिक ध्रुव निर्माण गर्नका लागि नयाँ शक्तिले गैर नेकपा, गैर काँग्रेर र गैर राप्रपा बाहेकका शक्तिसँग वार्ता र राजनीतिक तालमेल गर्दै जाने उहाँको भनाई रहेको छ । उहाँले जनजातिका मुद्दाहरुलाई सहकार्यका साथ अगाडि बढाउने बताउनुभयो । नयाँ शक्ति र डा.बाबुराम भट्टराईले मात्र नभै सबैले नयाँ राजनीतिक ध्रुवीकरणका लागि पहल गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।

