पत्रकार हमाललाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश
पोखराका पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
हमालकी श्रीमती मोनिका गुरूङले जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
सो बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो ।
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)का कास्की जिल्ला इञ्चार्ज कृष्णचन्द्र वाग्ले(रुपेश)को अन्तर्वार्ता लिन जाँदा कास्कीको सिसुवामा भदौं ६ गते वाग्ले र हमाल दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि पनि हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै नेपाल पत्रकार महासंघले दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुर्व्यवहार सम्बन्धी मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।

