मापदण्ड विपरीतका घरमा पोखरा महानगरपालिकाले डोजर चलायो, नियम नमान्ने जनप्रतिनिधि

पोखरा महानगरपालिकाले पोखरामा खोलाको मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिकै घर डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो ।

घर भत्काउन नदिने वडा सदस्य परियारको प्रयास विफल भएको छ । डोजरको बकेटमा बसेर घर भत्काउने कार्य रोक्ने प्रयास गरेपनि नेपाल प्रहरीका महिला सदस्य र महानगरपालिकाको महिला नगर प्रहरी टोलीले नियन्त्रणमा लिएपछि परियारको प्रयास विफल भयो । सार्वजनिक जग्गामा बनेको परियारको घर फिर्के खोलाको मापदण्ड विपरित रहेको र नेपाल स्काउटको केही जग्गामा हडेपेको अवस्थामा रहेको थियो ।

नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमा समेत निवेदन दिएको श्रोतले जनाएको छ । विष्णुलाई मापदण्ड बिपरित पटक÷पटक घर नबनाउन सचेत गराउँदा पनि अटेर गरी बनाएकाले घर भत्काउनुपरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालको भनाई छ ।

महानगरपालिकाले पटक÷पटक सचेत गराएको र पत्रसमेत लेखेकोमा अटेर गरेपछि घर भत्काउनुपरेको बरालले उल्लेख गर्नुभयो । परियारले महानगरपालिकाका प्रमुख जिसी र वडाध्यक्ष शंकरप्रसाद बास्तोलासँग सल्लाह गरेरै घर बनाएको जिकीर गर्नुभएको छ ।

२०४८ सालदेखि त्यही सुकुम्बासी बस्तीमा बस्दै आउनुभएकी परियारले आफु जनप्रतिनिधि हुनुभन्दा पहिलेदेखि बसेको घर भत्काइएको गुनासो गर्नुभयो । घर भत्काउन लाग्दा परियारले गरिवलाई पनि बाच्ने अधिकार भएको भन्दै घर नभत्काउ आग्रह गर्नुभएको थियो ।

परियारको घर भत्केपछि पोखरामा सार्वजनिक जग्गा मिचेर निर्माण भएका अन्यघर पनि भत्काउनु पर्ने नगरबासीहरुको माग रहेको छ । महानगरले सार्वजनिक जग्गा मिचेर निर्माण भएका घर भत्काउने बताएको छ ।

त्यस्तै महानगरपालिकाले सोमबारै पोखरा ५ धारापानीमा रहेको भरत लिगलको अवैध घर र बुलौंदी खोला नजिक रहेको जमुना क्षेत्रीको घर पनि भत्काइएको छ । लिगलले पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले र क्षेत्रीले लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको पोखरा महानगरपालिकाले जनाएको छ ।

Facebook Comments