गरीबीका आधारमा आरक्षण दिन माग

क्षत्री समाज नेपालकाे तेस्राे महाधिवेशन पाेखरामा शुरू भएकाे छ । राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूलनाराका महाधिवेशन हुरू भएकाे हाे ।

कार्यक्रममा सम्बाेधन गर्ने वक्ताहरूले हिन्दु राज्य हुनुपर्ने माग गरेका छन् भने जातीय आधारमा नभई गरीबीका आधारमा आरक्षण दिन माग गरेका छन्र । सबैभन्दा धेरै जनसंख्या रहेको क्षत्री समुदायले राज्यले विभेद गरेकाे वक्ताकाे गुनासाे थियाे ।

काँग्रेस लगायत राजनीतिक पार्टीका नेताहरुले देशमा धर्म निरपेक्षता लागू गर्नेबारे जनमतसंग्रह गर्नुपर्ने आवाज उठाइरहेको बेला क्षत्री समाज नेपालले पनि सो मुद्दा अघि सार्ने भएकाे छ ।प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीले महाधिवेशन उद्घाटन गर्दै राज्यले प्रदान गर्ने आरक्षण जातीयतामा नभइ गरीबीका आधारमा प्रदान गरिनुपर्ने बताउनुभयाे । वैदिक हिन्दू सनातन धर्म भएको नेपाललाई यूरोपियन क्रिश्चियनहरुको दबाबमा परेर अन्यायपूर्ण तरिकाले धर्म निरपेक्ष बनाइएको केसीकाे जिकीर थियाे ।

पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य कुमार खड्काले राज्यले जातका आधारमा नभई गरीबीका आधारमा आरक्षण प्रदान गर्नुपर्ने अन्यथा द्वन्द्व बढ्ने बताउनुभयाे । समाजका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले क्षत्री समाजभित्र कुनै राजनीतिक कुरा नभएको दाबी गर्दै समुच्च राष्ट्रको हितको लागि काम गर्ने बताउनुभयाे । उहाँले आफ्नोमात्र होइन गुरुङ, मगर, राई, लिम्बु सबैको साझा पहिचानको आवाज उठाएको दावी गर्नुभयाे ।

कार्यक्रममा पूर्व मन्त्री देवेन्द्रराज कँडेल, पूर्व सेनापति रुक्माङ्गत कटुवाल, गण्डकी प्रदेश सभाका अर्का सदस्य कृष्ण थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

समाजका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले क्षत्रीले देशको कुनै पनि नागरिक राज्यबाट उपेक्षित हुन नहुने धारणा राख्नुभयाे । महाधिवेशन उद्घाटन पूर्व पोखराको चिप्लेढुंगाबाट जातीय पोशाकमा सजिएका क्षत्रीहरुले न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै नयाँबजारसम्म र्याली निकालिएकाे थियाे ।

अधिवेशसनमा भाग लिन देशभरबाट करिब १ हजार २ सय जना प्रतिनिधि पोखरा आएका छन् । आइतबारसम्म चल्ने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने प्रचार प्रसार संयोजक एवं समाजका केन्द्रीय सचिव कृष्ण थापाले जानकारी दिनुभयाे ।

Facebook Comments