पोखरामा खानेपानी संस्थानले वितरण गर्ने पानीमै कोलिफर्म(रिपाेर्ट सहित)

केही दिन अघि फेवातालको पानी छुनलाई समेत सावधानी अपनाउनुपर्ने समाचार आइरहेका बेला पोखराका घरघरका धारामा समेत कोलिफर्मयुक्त पानी आइरहेको खुलासा भएको छ । पोखराबासीले प्रयोग गर्ने खानेपानी संस्थानले वितरण गर्ने खानेपानीमा दिसामा पाइने कोलीफर्म ब्याक्टेरिया भेटिएको हो ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराकाे ल्यावमा गरिएको परिक्षणमा कोलिफर्मको मात्रा ८१ देखिएको छ । त्यस्तै कुहिने बस्तुबाट बन्ने ब्याक्टेरिया इकोली समेत ५६ को मात्रामा भेटिएको छ ।

उक्त पानी पिउन योग्य नहुने प्राविधिकहरुको भनाई छ । पोखरामा मर्दी खोलाको पानी विना शुद्धीकरण वितरण हुँदै आएको छ । पानीको मुहानभन्दा माथि बस्ती रहेको, पशु चौपाया समेत मुहानभन्दा माथितिर छाडिने हुँदा पानी दुसित हुन पुगेको हो ।

यसअघि पनि पानी दुसित भएको भन्दै आवाज उठ्ने गरेपनि सो को सुनुवाई हुन सकेको छैन् । जापानी सहयोग नियोग जाइकाले पोखरामा खानेपानी शुद्धीकरण सहित वितरण गर्ने आयोजनाका लागि काम गरिरहेको छ । साढे ४ अर्वको लागतमा खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको छ । जाइकाले पानीकाे मुहानमा ड्याम बनाएपछिकाे भागमा पाइप विस्तार र शुद्धीकरणमा उक्त रकम खर्च गर्दैछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेलका अनुसार कोलिफर्मको परिक्षण अन्य रोग लाग्न सक्ने संभावना छ कि छैन भनेर जाच्ने गरिन्छ । उहाँका अनुसार पानीमा कोलिफर्म भेटिएमा अन्य रोगका किटाणु हुने संभावना बढी हुन्छ । नेपाल सरकारले बोत्तल या जारमा उपलब्ध हुने पिउने पानीका लागि मापदण्ड बनाएको र सोही अनुसार अनुगमन हुने गरेको पोखरेलले जानकारी दिनुभयो ।

नेपाल बोटल वाटर उद्योग संघ, गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले पोखरा आउने खानेपानीको मुहान नै बस्तीभन्दा माथि सार्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पानीकाे मुहान वरपरका मावनवस्ती, पशु चौपायाको विभिन्न फोहोर पोखरा आउने पानीको मुहानमा पुग्ने गर्दछ । शुद्ध पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव रहेको छ । पानीकाे श्राेत खाेजेर भएपनि शुद्ध पानी उपलब्ध गराउने तर्फ लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामान्य नागरिकले पानी शुद्धीकरण नगरी पिउने हुनाले यसले स्वास्थ्यमा गम्भीर असर पार्ने तर्फ सचेत हुन जरुरी छ । फेवातालको पानीमा केमिकल, फिजिकल, बाइलोजिकल टेष्ट गर्दा अत्याधिक दुसित भेटिएको थियो ।

Facebook Comments