ब्रेकिङः विजयपुर खाेलामा बाढी, डाइभर्सनमा राखिएका ह्युम पाइप बगायाे, पाेखरामा सवारी आवागमन प्रभावित(भिडियाे)

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे छ । डाइभर्सन बगाएपछि १० टनभन्दा माथिका लाेड बाेक्ने मालावाहक सवारीकाे आवागमन बन्द भएको छ ।

साेमबार रातीकाे बाढीले डाइभर्सन बगाएकाे हाे । जसका कारण मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

बाढीले गर्दा यसअघि चर्किएर जाेखिमयुक्त बनेकाे विजयपुरकाे पक्की पुलमा लगाएकाे फलामकाे सपाेर्ट समेत समेत बगाएकाे छ । जसका कारण साे पुलबाट सवारी आवागमन प्रभावित हुने भएकाे छ ।

गत माघमा पुलकाे नियमित मर्मत सम्भारका क्रममा पुलकाे सपाेर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केकाे पाइएकाे थियाे । त्यसपछि मालबाहक गाडी सञ्चालनमा राेक लगाइ डाइभर्सन बनाइएकाे थियाे ।

पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।

जसले गर्दा गण्डकी प्रदेशकाे राजधानी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मलाइ प्रभाव पर्दछ । पाेखरा जाने विकल्पका रूपमा लेखनाथबाट सेती नदिकाे लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुल बाट हलुका सवारी साधन पठाउन सकिने भए पनि दाेविल्लामा रहेकाे पुल समेत जाेखिमपूर्ण रहेकाले लाेड गाडीहरु आवतजावतमा भने कठिनाइ पर्ने देखिन्छ ।

समयमै पुलकाे मर्मत र वैकल्पिक उपायबारे नसाेचिदा अवकाे केही हप्ता पाेखरा र अासपासमा सवारी आवागमन प्रभावित बन्ने भएकाे हाे । जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

घनश्याम पाण्डेकाे स्थलगत रिपाेर्टिङ

Facebook Comments