विषादी परिक्षणको निर्णय स्थगित भएकोमा माफी चाहन्छुः मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयमा गल्ती भएको भन्दै माफी माग्नुभएको छ । साथै उहाँले सचिवहरुले आफूलाई गुमाराहमा राखेकाले यस्तो निर्णय हुन पुगेको जानकारी दिनुभयो ।
सोमबार मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले भन्नुभयो, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’
यद्यपि प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको मन्त्री यादवले उल्लेख गर्नुभयो । उहाँले पूर्वाधार नभएकाले निर्णय स्थगित गर्नुपरेको बताउनुभयो । साथै मन्त्री यादवले पूर्वाधारबारे राम्रोसँग स्पष्ट नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी माग्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु ।’
यसैवीच मन्त्री यादवले जनतालाई विषादी खान नदिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूलाई थप्पड हानेर यसमा सन्तोष मिल्ने भए थप्पड थाप्न तयार रहेको समेत बताउनुभयो ।
विषादी परीक्षण गर्ने निर्णय स्थगित भएकोमा सरकारको चौतर्फी आलोचना भइरकेको छ । जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने भन्दै सरकारको आलोचना बढेको हो । सत्तारुढ दलका नेताहरुले नै सरकारको निर्णयको विरोध गर्दै आएका छन् ।
तर कृषि मन्त्रालयले भने ६ प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएको छ । भारतमा समेत सीमा नाकामा नै विषादी परीक्षण प्रयोगशाला नभएको र कोलकत्ता पुर्र्र्याएर विषादी परीक्षण गरेपछि सामान निर्यात हुने गरेको नेपाली व्यवसायीहरुको भनाई छ ।

