चिनीयाँ विदेशमन्त्री वाङ नेपालमा
चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउनुभएकाे छ । मंगलबारसम्म काठमाण्डाै रहने विदेशमन्त्री वाङ चिनीयाँ राष्ट्रपति सी चिनफिङको अक्टाेवरमा हुने भनिएकाे भ्रमणको तयारीको लागी भएकाे धेरैकेा अनुमान छ ।
तर नेपाल र चिनीयाँ पक्ष दुवैले राष्ट्रपति सी चिनफिङको भ्रमणको बारेमा केही जानकारी दिएका छैनन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकाे निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउनुभएकाे हाे ।
विदेशमन्त्री वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट शनिबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे हाे । वाङकाे नेपाल भ्रमणको क्रममा दुई पक्षीय बैठक तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
वाङ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार वनेपछि नेपाल भ्रमण गर्ने चीनका उच्च नेता समेत हुनुहुन्छ ।
विदेशमन्त्री वाङसंगै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्र्तराष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियां राजदूत मिसेस होउ याङछी लगायत छन् ।
नेपालको तर्फबाट दुई पक्षीय वार्तामा नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, विदेश सचिव शंकरदास बैरागी, अर्थ सचिव राजन खनाल, शिक्षा तथा विज्ञान र प्रविधि सचिव महेशप्रसाद दाहाल, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल लगायत सहभागी हुनुहुन्छ ।
वाङले काठमाडौंमा राष्ट्रपति सीको नेपाल भ्रमणका एजेण्डालाई अन्तिम रुप दिन प्रयास गर्ने श्राेतकाे दावी छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल हुने जानकारी दिनुभयाे । विगतका सम्झाैता कार्यान्वयन गर्नेतर्फ दुवै पक्षकाे चासाे रहने बताइएकाे छ ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन लगायतमा यसअघि नै सम्झौता भइसकेकाे छ ।
ती सम्झाैता कार्यान्वयनका विषयमा भइरहेकाे प्रगतिका बारे दुइ पक्षवीच छलफल हुने बताइएकाे छ ।
आइतबार सांझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियां दूतावासले आयोजना गरेको छ । उनले आन्तरीक ब्रिफिङ लिएपश्चात उच्चस्तरिय भेटवार्ताहरु सुरु गर्नेछन् ।
सोमबार दिउंसो ३:३० बजेदेखि ४:३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियां प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डलको बीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुंनेछ ।
विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसंग साेमबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
त्यसैगरी विदेशमन्त्री वाङले मंगलबार नेकपाका अध्यक्ष्ँ प्रचण्ड र प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ । विदेशमन्त्री वाङ मंगलबार चीन फर्कने कार्यक्रम छ ।

