१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै
आज मार्च ८, १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाईंदैछ । नेपालभर महिला सम्मद्ध विभिन्न संगठन एवं संस्थाहरुले पनि यो दिवस मनाउँदैछन् । लैंगिक समानताका लागि सोच र व्यवहार समृद्धिको आधार भन्ने नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाउन लागिएको हो ।

विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले र्याली, सभा, अन्तरक्रिया, विभिन्न रचनात्मक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्यताका साथ मनाऔंं, संविधानको कार्यानवयन, समृद्धि र समानताका लागि अघि बढौं भन्ने नारासहित पोखरामा पनि यो दिवस मनाउने क्रम जारी रहेको छ ।
समान कामको समान ज्यालाको कार्यान्वयन, राज्यका हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व, पैतृक सम्पतिमा समान अधिकारको कानुनी व्यवस्थाको कार्यान्वयन लगायतका सवालमा महिलाहरुले आवाज उठाउँदै आएका छन् । विश्वका विभिन्न ६ मुलुकमा मात्र महिला र पुरुषवीच समान अवसर रहेको विभिन्न अध्ययन हरुले देखाएका छन् ।
अखिल नेपाल महिला संघ कास्की र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त आयोजनामा विचार गोष्ठी विहीबार पोखरामा सम्पन्न भएको छ । गोष्ठीमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई महिला अधिकार सुनिश्चित हुने खालमा नीति तथा योजना निर्माणका लागि सुझाव दिइएको थियो ।
नेपालकाे संविधानमा महिला अधिकार सम्बन्धि व्यवस्था
– राष्टपती वा उपराष्टपती फरक फरक लिङ्गको हुने
– प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेद्वारी – दिँदा महिलालाई समेत समावेशी गरी बन्दसूची तयार गर्ने
– संघिय संसद र प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एक तिहाई महिला सदस्य हुने गरी सुनिश्चित गरिएको
– राष्टिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला निर्वाचित हुने र मनोनित गर्दा कम्तिमा एक जना समावेश गर्नुपर्ने
– प्रतिनीधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना र राष्टिय सभाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुने
– प्रदेश सभामुख र प्रदेश उपसभामुख मध्ये एक जना महिला हुने
– गाउँ कार्यपालीका र नगरकार्यपालीकामा कम्तिमा ४ जना महिला सदस्य रहने
– जिल्ला समन्वय समितिमा कम्तिमा ३ जना महिला रहने
– गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा कम्तिमा २ जना महिलाको प्रतिनीधित्व हुने
राज्यको संरचनामा महिला सहभागिता
– प्रतिनीधि सभामा ३३ प्रतिशत महिला सहभागिता
– राष्टिय सभामा ३८ प्रतिशत महिला सहभागिता
– स्थानिय निकायमा ४० प्रतिशत महिला सहभागिता
स्थानिय निकायमा महिलाको सहभागिता
– झण्डै ३६ हजार प्रतिनीधि मध्ये झण्डै आधा संख्यामा दलित सहित महिलाहरु चुनिने छन् ।
– ६८०० वडा बाट मात्र १४ हजार महिला चुनिने छन् ।
– स्थानिय तहमा २० प्रतिशत दलित र ४० प्रतिशत महिलाको प्रतिनीधित्व सुनिश्चित हुनेछ
– गाउँपालिकामा ४ महिला १ दलित सहित अल्पसंख्यक र नगरपालीकामा ५ महिला सहित ३ दलितको प्रतिनीधित्व हुने छ
– गाउँ कार्यपालीका २ हजार ५ सय र नगरपालीकामा १ हजार २ सय महिलाहरु चुनिने छन्
अन्तर्राष्ट्रिय महिला दिवसकाे इतिहास(नेपाली विकिपिडियाबाट)
अन्तरराष्ट्रिय महिला दिवस (अङ्ग्रेजी: International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई वोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।

