महिलामाथि हुने दुर्व्यवहारका घटना अन्त्य गरौं – राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथालगायतका जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
१०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, कार्यस्थलमा महिलामाथि हुने दूव्र्यहारको घटना अन्त्यका लागि संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर अभियाननै सञ्चालन गरिरहेको बताउनुभयो ।
महिला हिंसा अन्त्यका लागि नेपालको संविधानले उचित व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्दै अघि बढने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । बोक्सी, छाउपडीजस्ता सामाजिक अन्धविश्वास अन्त्यका लागि सरकारले सक्दो पहल गरिरहेको मन्त्री थापाको दावी छ ।

