प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति बरिष्ठ नेता नेपालकाे असन्तुष्टी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको बताउनुभयो ।
नेता नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भईरहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको उल्लेख गर्दै ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भए पनि पार्टी नेतृत्वले ‘एस म्यान’ को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको बताउनुभयाे ।

