विप्लवका नेता कार्यकर्तालाई अदालतकाे छाड्न आदेश, प्रहरी पुनः पक्राउ गर्दै

अदालतले छाड्ने आदेश दिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन कार्की (जीवन्त) प्रहरीले पुनः पक्राउ गरेकाे छ । जीवन्त पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो ।

तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ । परिसरका प्रमुख वसन्तकुमार लामाका अनुसार संखुवासभाबाट पक्राउ गरिदिन पत्र प्राप्त भएकाले पक्राउ गरिएकाे हाे । संखुवासभामा भने कार्की विरूद्ध हातहतियार तथा खरखजना मुद्दा अन्तरगत अनुसन्धान हुनेछ ।

यता कास्कीमा नेत्रविक्रम चन्द(विप्लव) नेकपा निकट अखिल(क्रान्तिकारी) कास्कीकी नेतृ
आस्था नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आइतबार विहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको प्रहरीले पुष्टी गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले नेपालीलाइ पक्राउ गरिएकाे जानकारी दिनुभयाे ।

नेपाली स्याङ्जा स्थायी ठेगाना भइ पाेखरा फूलबारीमा बस्दै आएकाे र साेही स्थानबाट पक्राउमा पर्नभएकाे हाे । प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस ईकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो ।

Facebook Comments