प्रधानमन्त्री नै संघीयता विरोधी : काँग्रेस नेता थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान मन्त्रिमण्डललाई भ्रष्टहरुको क्लबको संज्ञा दिनुभएको छ । गोर्खामा पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टहरुको क्लब जस्तै बनेको आरोप लगाउनुभयो ।

भ्रष्टाचार गर्नेलाई कार्वाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको थापाको जिकीर थियो । वर्तमान सरकारले १ बर्षभित्र जनताको पक्षमा कुनै काम गर्न नसकेको जिकीर गर्दै उहाँले जताततै भ्रष्टाचार भइरहेको बताउनुभयो ।

एक पछि अर्को ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गर्नमै सरकार व्यस्त रहेको भन्दै नेता थापाले बहुमतको सरकारले राम्रो काम गर्छ भन्ने जनअपेक्षामा कुठराघात भएको जिकीर गर्नुभयो । वर्तमान सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्न नदिई पङ्गु बनाउन खोजेको नेता थापाको आरोप थियो ।

प्रधानमन्त्री ओली नै संघीयता विराधी रहेको आरोप लगाउंदै नेता थापाले जनताबाट निर्वाचित सरकारबाटै मुलुक खतरामा परेको टिप्पणी समेत गर्नुभयो । उहाँले संघका तर्फबाट बन्नुपर्ने ऐन नियम बन्न नसक्दा प्रदेश र स्थानीय सरकार कामविहीन बनेको पनि जिकीर गर्नुभयो ।

Facebook Comments