सरकार–सीके राउतबीचको सहमतिप्रति नेकपाकै नेता भीम रावलको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने बताउनुभएको छ । शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गर्नुभयो ।

शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो । देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बिषयमा कसैको विरोध हुन नहुने उल्लेख गर्दै नेता रावलले तर, राउतसँगको सहमति त्यस्तो रहेको भन्नेमा आफुलाई विश्वास नरहेको बताउनुभयो ।

नेता रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पस्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पस्ट नदेखिएको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा ‘देशको एक इन्चपनि भूमि टुक्र्याउन पाइँदैन’ भनेर बोलेको उल्लेख गर्दै नेता रावलले स्वतन्त्र मधेस संगठन र सरकारबीच सहमति भएको र यसले के अर्थ दिन्छ ? भन्दै प्रश्न गर्नुभयो । यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्ने उहाको भनाई थियो ।

रावलले सीके राउतले आफ्नो फेसबुक पेजमा ‘जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो’ भनेर पोस्ट गरेको पनि बताउनुभयो । स्वतन्त्र मधेसका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर राउतले लेखेकोमा पनि रावलले आपत्ति जनाउनुभयोे । राउतसित भएको सहमति नेपालको संविधान र पार्टीको विधानविपरीत भएको रावलको भनाई छ ।

Facebook Comments