मधेसवादी दलको भ्रममा नपरौं : नेकपा नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनतालाई भ्रम फैलाउनेका पक्षमा नलाग्न आग्रह गर्नुभएको छ । शनिबार रौतहटको गरुडामा आयोजित नेकपाको आमसभामा नेता नेपालले मधेसी दलले नेकपाविरुद्ध भ्रम फैलाएको भन्दै त्यसलाई नपत्याउन जनतालाई आग्रह गर्नुभएको हो ।

नेकपा जतिको बलियो पार्टी मधेस, पहाड र हिमालमा नभएको नेता नेपालको भनाइ थियो । उहाँले विगतमा पनि नेकपाले झापा आन्दोलन, किसान आन्दोलन र जनयुद्ध लागयतका जागरण आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र त्यसलाई मधेसका जनताले सधैँ साथ दिएको उल्लेख गर्नुभयो ।

सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको र त्यसबाट मधेस पहाड हिमालमा विकास हुने नेता नेपालको भनाइ थियो । उहाँले मधेसका जनताका लागि विकास योजना ल्याउने पार्टी नेकपा भएको र पार्टी अध्यक्ष केपी शर्मा ओली विगतमा पनि प्रधानमन्त्री भएका बेला तराई मधेस विकास कार्यक्रम ल्याएर काम अगाडि बढाएको बताउनुभयो ।

मधेसका राजनीतिक दलहरू मधेसमा लुट्ने काममा संलग्न रहेको भन्दै नेता नेपालले जनताको पक्षमा काम गर्ने पार्टीविरुछ नलाग्न चेतावनी दिनुभयो ।

Facebook Comments