शान्ति सम्झौता पालना नभएको भन्दै पूर्व जनमुक्ति सेना नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

पूर्व जनमुक्ति सेना नेपालले २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको उल्लघंन भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

पूर्व जनमुक्ति सेना नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय चितवन मार्फत् एक ज्ञापनपत्र पेश गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

ज्ञापनपत्रमा पूर्व जनमुक्ति सेनाका सदस्यलाई शान्ति सम्झौता हुनुभन्दा अगाडिका घटनामा पक्राउ गर्ने, जेल राख्ने र अनेक प्रकारले दुःख दिने काम भएको भन्दै त्यसो नगर्न ध्यानाकर्षण गराइएको छ ।

पूर्व जनमुक्ति सेनाका सदस्यहरुमाथि लगाइएका सम्पूर्ण मुद्दा खारेजी गर्नुपर्ने माग गरिएको छ भने पूर्व जनमुक्ति सेनाका सदस्यद्वय गोरखाका का शक्ति गुरुङ र कालीकोटका सिंहबहादुर शाहीमाथि सैनिक अदालतबाट भएको सजाय फिर्ता गर्नुपर्ने उल्लेख छ ।

साथै पूर्व जनमुक्ति सेनाका अधिकांश सदस्यहरू विस्तृत शान्ति सम्झौता अनुसार सामान्य जीवनमा रही निजी जीवन विताइरहेकाे पनि उल्लेख छ ।

Facebook Comments