सहकारीहरु समृद्धिको संवाहक : मन्त्री अर्याल
पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताउनुभयो । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको उहाँको भनाई थियो । मन्त्री अर्यालले सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याउनुभयो ।
गण्डकी प्रदेश सांसद प्रभा कोइराला आफूहरु सहकारी अभियानमै रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा सहकारी विधेयकलाई परिमार्जन गरिने कोइरालाको भनाई थियो । कोइरालाले पैसा लिने र दिनेमात्र नभई सहकारीले उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेल, पूर्व अध्यक्षहरु पृथ्वीराज शर्मा तिमिल्सिना र गोविन्द तुलाचन, पूर्व कोषाध्यक्ष स्व.क्या. ऐरबहादुर गुरुङकी धर्मपत्नी धनकुमारी गुरुङ, पत्रकार नारायण शाही। जग्गादाता सर्वजित अधिकारी, सूर्र्यप्रसाद बराल, एडीसी विल्डर्स प्रालिका गणेश सापकोटा, सहकारी सन्देश सम्पादक त्रिभुवन पौडेल, अमरनाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । मन्त्री अर्यालले उनीहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘सहकारी सन्देश’ को विमोचन गरिएको छ । संस्थाका प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका गर्नुभएको थियो ।

