विजयपुर पुलमा डाइभर्सनको व्यवस्था तत्काल मिलाउ : सभापति कोइराला
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजयपुर खोलाको पुलमा समस्या आएकाले तत्काल डाइभर्सनको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको छ । समितिका सभापति कोइरालाले पुलको निरीक्षण गरेपछि सडक डिभिजन कार्यालय, पोखरा कास्कीका प्रमुख हरिकुमार पोख्रेलसँगको छलफल पछि यस्तो आग्रह गर्नुभएको हो ।

पुलमा समस्या आएपछि सयौं हेभी लोड गाडी लेखनाथको गगनगौडामा अलपत्र परेका छन् भने सवारी आवागमनमा समेत कठिनाई भएको छ । यसका साथै पुलमा दुर्घटनाको जोखिम समेत बढेको छ ।
यसर्थ दुर्घटना हुन नदिन र पुलको यथाशीघ्र मर्मतको व्यवस्था मिलाउन पनि डाइभर्सनको व्यवस्था तत्काल हुनुपर्ने कोइरालाको भनाई छ । साथै उहाँले पुलमा सवारी आवागमनमा समस्या आउनुमा पुल बनाउँदामा नै केही समस्या थियो कि भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने र लापरवाही गर्नेलाई कार्वाही गर्नुपर्ने बताउनुभयाे ।

बेलीव्रिज हालेर तत्कालको समस्या हल गरेपनि पुन पुल बनाउनुपर्ने समितिका सभापति कोइरालाको भनाई थियो । प्राविधिक त्रुटीका कारण पुलमा समस्या आएको हुन सक्ने भन्दै निर्माण कम्पनीलाई सचेत बनाउनुपर्ने बताउनुभयो । केन्द्र सरकारसँग समन्वय गरेर पुलको समस्या समाधानका लागि पहल गर्ने पनि उहाँको भनाई रहेको छ ।
सडक डिभिजन कार्यालय, कास्कीका प्रमुख हरिकुमार पोख्रेलले प्राविधिक समस्या आउने विषयमा कुनै ग्यारेन्टी हुन नसक्ने बताउनुभयो । ओभर लोडकै कारण पुलको बटम कड र क्रस मेम्बर चर्कने तथा भाचिने अवस्थामा पुगेको पोखरेलको भनाई रहेको छ ।

बटम कड भाँचिने अवस्थाले अत्यन्त जोखिमपूर्ण बनेको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण मर्मतले पुल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । पुल पूर्ववत रुपमा सञ्चालनमा ल्याउन कठिनाई हुने भन्दै उहाँले अध्ययन गरेपछि मात्र विस्तृत रुपमा पुलको प्राविधिक पक्ष स्पष्ट हुने बताउनुभयो ।

अध्ययनका लागि १ महिनाको अवधि लाग्ने उहाँको भनाई रहेको छ । डाइभर्सनको व्यवस्था गरी पुलमा शुन्य भार बनाएर मात्र पुर्ण रुपमा मर्मत गर्न सकिने पोख्रेलले बताउनुभयो । आइतबार साँझसम्म डाइभर्सनको काम सकिने उहाँको भनाई थियो ।

