पार्टीमा भावनात्मक एकता छैन : काँग्रेस वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुसँगै तातोपानीमा नुहाउँदैमा एकता भएको नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले काँग्रेस पार्टीभित्र भावनात्मक एकता हुन नसकेको बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा सहित गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमणमा रहनुभएका नेता पौडेलले म्याग्दीको तातोपानीमा पौडी खेलेकोबारे प्रष्टीकरण दिदैं भन्नुभयो, ‘भावना र एजेण्डामा एकता भएमात्र एकताको सार्थकता हुन्छ र पार्टीले गति लिन्छ ।’ अन्यथा पार्टी कमजोर हुन्छ ।
पार्टी सुधारका लागि आफूले तिथि मिति सहित महाधिवेशनको कार्यतालिका दिएपनि सोबारे ध्यान नदिएको वरिष्ठ नेता पौडेलको भनाई थियो । यसअघि निर्धारित कार्यतालिका अनुसार महाधिवेशनको तयारी गर्नुपर्ने उहाँको भनाई थियो । सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति शंका व्यक्त गर्दै नेता पौडेलले देशमा हत्या, हिंसा र बलात्कारका घटना दिनहूँ बढिरहेकाले सरकार असफल भएको टिप्पणी गर्नुभयो ।
सरकार न्यायालय र अख्तियारमा लगायतका संवैधानिक आयोगहरुमा समेत हावी हुँदा जनताले न्याय पाउन नसकेको उहाँको दावी रहेको थियो । प्रजातन्त्र र राष्ट्रियता मास्ने काम भ्रष्टाचारले गर्ने भन्दै प्रधानमन्त्री ओलीले बोलीमा सुशासनका कुरा गर्ने तर व्यवहारमा भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको पौडेलको आरोप रहेको थियो ।
लुकाएका हतियार देखा परेका हुन्
विप्लव माओवादीको बल आतंकको जिम्मा प्रचण्डले लिनुपर्ने पौडेलको तर्क रहेको थियो । विगतको शान्ति सम्झौतामा क्यान्टोन्मेन्टका हतियार राज्यको मातहतमा रहे पनि व्यक्तिसँग रहेका हतियार राज्यलाई बुझाउन नसक्दा अहिलेको समस्या आएको पौडेलको तर्क थियो । विगतमा प्रचण्डले लुकाएका हतियार नै अहिले देखा परेको पौडेलको दावी थियो ।

नेपाली काँग्रेस कास्कीले आयोजना गरेको सो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु राम्रो भएको उल्लेख गर्नुभयो । यद्यपि कोइरालाले सहमतिका केही बुँदाप्रति भने आपत्ति जनाउनुभयो । मधेशमा जनमत संग्रह गराउने जस्ता विषयमा प्रधानमन्त्री लाग्नु देशकै लाचारीपन कोइरालाको टिप्पाण्ी थियो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका पूर्व आमन्त्रित सदस्य शुक्रराज शर्मा, प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, युनियनका निवर्तमान अध्यक्ष शिरोमणि बराल, काँग्रेस नेतृ सरस्वती गुरुङ, पार्टीका जिल्ला उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट लगायतले जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । गत फागुन ११ गते भएको युनियनको नवौं अधिवेशनबाट सिग्देलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

