पारिश्रमिक दिऊ भन्दा राजीनामा माग्न खोजियोः सञ्चारमन्त्री बास्कोटा
सञ्चार सूचना तथा प्रविधि मन्त्री पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिनुपर्ने भन्दा आफ्नो राजीनामा माग्न खोजिएको बताउनुभएको छ । कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले श्रमको शोषण गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । आम पत्रकार र पत्रकार महासंघलाई पनि कित्ता स्पष्ट पार्न आग्रह समेत गर्नुभयो । सञ्चारमन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई ‘कानून बमोजिम पारिश्रमिक देऊ’ भनेर सरकारले सम्झाउँदा प्रेस स्वतन्त्रता हनन नहुने बताउनुभयो ।
आफूले २५ वर्ष सक्रिय पत्रकारिता गरेको स्मरण गर्दै मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रताको पाठ श्रम शोषण गर्नेले सिकाउन आवश्यक नरहेको टिप्पणी समेत गर्नुभयो । उहाँले सरकार मिडिया सञ्चालक र श्रमजीवी पत्रकार दुवैको हितमा काम गर्न अग्रसर भएको जिकीर समेत गर्नुभयो ।
मिडिया हाउसबाट पत्रकार ठगिएको गुनासो आएपछि प्रेस पास नविकरण र वितरणका बेला सम्बन्धित संस्थाले बैंकमा तलब पठाएको पेरोल मागिएको मन्त्री बास्कोटाको भनाई थियो ।
मिडिया हाउसले विभागमा पेश गर्ने पे रोल र पत्रकारले वैंकमा पाउने तलबमा धेरै फरक पाइएको उहाँको दावी छ । कतिपयले व्यक्तिगत गोपनियताको हक हनन हुने भन्दै विभागले पेरोल माग्न नमिल्ने बताउँदै आएका छन् ।

