परिवर्तनसँगै बदलिन सक्नुपर्दछः मुख्यमन्त्री गुरुङ

पोखरेली तमुहरुले ट्हो टें धुमधामका साथ मनाए
पोखरेली तमुहरुले धुमधामका साथ परम्परागत साँस्कृतिक पर्व ट्होटें मनाएका छन्। तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमा मनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा २०५२ सालदेखि पोखरामा मनाउदै आएको छ ।

साउन महिनाको तीनवटा र चैत्र महिनाको तीनवटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउने प्रचलन रहेकामा पोखरामा बसोबास गर्ने तमुहरुले तमु धिं नेपालको अगुवाईमा २०५२ सालदेखि वर्षमा दुईपटक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार सामुहिक रुपमा बृहत रुपमा मनाउदै आएका छन् ।

पोखरा १७, बिरौटास्थित तमु ह्युलचोकमा विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु ह्युल, प्रकृति र पितृको नाउँमा धुप बाल्दै तमुहरुको मौलिक हतियार धनुष प्रहारबाट शुरुभएको ट्होटे र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत भएको थियो।

टहोटें समारोहको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका परिवर्तनहरुसँगै तमुहरुले आफुलाई पनि बदल्न सक्नुपर्ने बताउनुभयो । देशको राजनीतिक परिवर्तनमा तमुहरुले महत्वपुर्ण भुमिका निर्वाह गरे पनि परिवर्तन पश्चात उपलब्धि उपभोग गर्न नसक्नु कमजोरी रहेको उहाँको भनाई थियो।

तमुहरु विदेश मात्रै जाने, बन्दुक मात्रै बोक्ने मानसिकताबाट माथि उठ्नुपर्ने उहाँको भनाई थियो । खान र लाउनमा सबै भन्दा छिटो नक्कल गर्ने तमुहरुले चेतना अभिवृद्धि र राजनितीमा पनि नक्कल किन नगरेको मुख्यमन्त्री गुरुङको प्रश्न थियो । राजनीतिमा आफु हाँसको विचमा बकुल्ला जस्तो बनेको बताउनुहुदै प्रदेश नामाकरणमा आदिवासी जनजातिको पहिचानको सम्मान हुन नसक्दाको दुखेसो रहेको आफूले बुझेको उहाँको भनाई थियो ।

तमु लगायत आदिवासी जनजातिहरुमाथि अझै पनि विभेदको महसुस गरे पनि उपलब्धिहरुलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव थियो। ट्होटें, ल्होछार लगायतको चाडपर्व सँस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकार जुटिरहेको भन्दै चाडपर्वमा विदा संघीय सरकारको निर्णयबाटै प्राप्त भएको बताउनुभयो।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङले शुभकामना व्यक्त गर्नुहुदै यस प्रदेशको समृद्धिको लागि ट्होटें जस्तो सँस्कृति र प्रकृतिको संरक्षण तथा विकासका लागि सरकार लाग्नुपर्ने बताउनुभयो।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले मिडिया बुझ्नुपर्ने र मिडियाकर्मीले पनि आदिवासी जनजातिका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले ट्होटेंको बारेमा चर्चा गर्नुहुदै तमु लगायत आदिवासी जनजातिहरु समान अधिकारका लागि, पहिचान प्राप्तिका लागि सचेत एवं एकतावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साँस्कृतिक संयोजक मेनकाजी गुरुङ सञ्चालन महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो।

Facebook Comments