उच्च प्रहरी व्यवसायिकता झल्किने गरी कार्य सम्पादन गर्नुः प्रहरी नायव महानिरीक्षक घिमिरे
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले संघीय प्रहरी इकाई कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्त दुरुष्त एवं जनलक्षित बनाउन उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले विभिन्न शाखाहरुबाट सम्पादन हुने गतिविधिहरुको निरीक्षण गर्नुका साथै संघिय प्रहरी इकाई कार्यालयको नव निर्मित प्रहरी भवनको समेत अवलोकन गर्न भएको छ ।
कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक घिमिरेलाई कार्यालय र मातहतका गतिविधि लगायतको विषयमा समेटिएको प्रस्तुतीकरणका माध्ययमबाट थप गतिविधिहरुको जानकारी गराईएको थियो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रमा आईपर्ने जस्तासुकै समस्याहरुसंग लड्न प्रहरी कर्मचारीले सदैव आफुलाई तयार राख्नुपर्ने बताउदै गलत गर्नेहरु माथि कानून सम्बत कानूनी कठोरताको नीति अंगिकार गर्न र गराउन निर्देशन गर्नु भएको छ ।
समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नु प्रहरीको मुलभुत दायित्व रहेको बताउदै अब प्रहरीलाई उच्च व्यवसायिकता झल्किने गरी जनलक्षित प्रहरी सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

