आर्मीलाई चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि
विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।
डोमालाल राजवंशी रंगशालामा झापालाई उपाधि दिलाउन आर्मीका सन्तोष तामाङले दुई गोल गर्नुभएको थियो । कप्तान भरत खवास, नवयुग श्रेष्ठ र टेक बुढाथोकीले एक एक गोल गर्नुभयो । उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार नगद सहित शिल्ड र प्रमाणापत्र प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझाएको छ ।
खेलको २४ औ मिनेटमा सन्तोष तामाङले फ्रि किक मार्फत आर्मीको लागि गोलको खाता खोलेका थिए । त्यसको ९ मिनेट बित्न नपाउँदै कप्तान भरत खवासले झापाका गोलरक्षक दिनेश थापामगर बीट भएको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ७५ औ मिनेटमा युद्ध शाहिको लामो पासलाई नवयुग श्रेष्ठले गोल गरेका थिए । ८३ औं मिनेटमा झापाका डिफेन्सहरुको गल्तीमा फाइदा उठाउँदै गोलकिपर मात्र भएको अवस्थामा सन्तोष तामाङले ब्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गरे । ९० मिनेटको खेलमा ४–२ गोल भएपछि थपिएको समयमा आर्मीका टेकबहादुर बुढाथोकीले थप गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गोल गर्दै झापालाई खेलमा फर्किन सक्ने आशा जगाएका थिए । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको झापाका लागि योगेश गुरुङले ५५ मिनेटमा डि एरियाभित्र पाएको पासलाई गोल गर्दै झापालाई खेलमा फर्काएका थिए । २ गोलले अग्रता लिएको आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल प्रस्तुत गरिरहेको भएपनि स्कोर बराबरी भएपछि आक्रमणमा उत्रिएको थियो ।
त्यसको ३ मिनेट बित्न नपाउँदै झापाका लागि बिदेशी खेलाडी भिक्टोर अमोवीले गोल फर्काउँदै नतिजा ५–३ बनाए । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार पाए ।
प्रतियोगितामा उदियमान खेलाडीको पुरस्कार झापाका निशान्त खड्काले पाए । सर्वाेत्कृष्ठ गोलकिपर बिकेश कुथु, उत्कृष्ठ डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ठ मिडफिल्डर पुजन उपरकोटी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका नवयुग श्रेष्ठले पाए । बेष्ट कोच अफ द टुर्नामेन्ट आर्मीका चुनबहादुर थापा भए ।
उनीहरुले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाए । बिर्तामोडको इष्टर्न फिस कर्नरले उदियमान खेलाडीको रुपमा १५ हजार रुपैंयाँको पुरस्कार सञ्जोग राईलाई प्रदान गर्याे । मष्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट मगमग झापा ११ का मिडफिल्डर दिलेन लोक्ताम घोषित भए । उनले यामाहा कम्पनिको मोटरसाइकल पाए ।
आयोजकले लाइफटाइम एचिभमेन्ट अवार्ड नरेन्द्रकुमार लिम्बुलाई प्रदान गरेको छ । लिम्बुले पनि यामाहा कम्पनिको मोटरसाइकल पाए । प्रतियोगिताका समापनका अवसरमा पुर्व फुटबल खेलाडी गम्भिर राई र सीता खवासलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद २५ हजार सहित सम्मान गरेको आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

