सगरमाथाको उचाइ नाप्न एक महिना लाग्ने

सगरमाथाको उचाइ नाप्न करिब एक महिनाभन्दा बढी समय लाग्ने लाग्ने भएको छ । बुधबार त्यसतर्फ प्रस्थान गरेको टोलीले बिभिन्न स्थानबाट उचाइ नापेर तथ्यहरूको तुलना गर्ने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

सगरमाथाको उचाइ नाप्ने नापी विभागको टोलीलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गर्नु भएको थियो । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सहभागी छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने बताइएको छ ।

नेपालले पहिलो पटक आफैं सगरमाथाको उचाइ नाप्न लागेको हो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८ हजार ८ सय ४८ र अमेरिकी टोलीले ८ हजार ८ सय ५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । अहिलेसम्म ८ हजार ८ सय ४८ मिटरलाई नै सगरमाथाको उचाइ मानिदै आइएको छ । उचाई मापन कार्यमा अमेरिकाका तर्फबाट अत्याधुनिक प्राविधिक मेसिन सहयोग स्वरुप उपलब्ध गराएको बताइएको छ ।

Facebook Comments