बाढी पहिराे पीडितकाे उद्धार, राहत र उपचारमा जुट्न प्रधानमन्त्रीकाे अपिल
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडित उद्धारमा जुट्न अपिल गर्नुभएकाे छ । प्रधानमन्त्रीले बाढी पहिराे पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएकाे हाे ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्धार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिनुभएकाे हाे ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानमा परेकाहरुको उद्धारमा जुटन निर्देशन दिनुभएकाे थियाे । मन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगबारको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाएको पनि सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।
सरकारी तथ्यांक अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी ६ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन । तर १७ जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।
बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढि, पहिरो र डुबानको चपेटामा परेको छ । जल तथा माैषम विभागले शनिबार पनि बर्षा हुने जनाएकाे छ ।
मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको जानकारी दिनुभयाे ।

