खानासँगै हेक्सा ब्लेड हिरासतमा

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार हुनका लागि थुनुवाले हेक्सा ब्लेड प्रयोग गरेको खुलेको छ । प्रहरीले फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेपछि हेक्सा ब्लेड प्रयोग गरी डण्डी काटेर शुकलाल वाइवा लगायतका ४ जना फरार भएको खुलेको हो ।

वाइवालाई काठमाडौंको जोरपाटीबाट प्रहरीले पक्राउ गरेको हो । आफन्तले हिरासतमा रहेका थुनुवालाई खाना लैजाने क्रममा एउटा प्लेटले छोपरे हेक्सा ब्लेड हिरासतभित्र पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार वाइवालाई साथीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

वाइवालाई सहयोग गर्ने उनका सहयोगीहरु रमेश सुनुवार र करण मोक्तानलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाइवासँगै सोही राती ४ जना हिरासतको डण्डी काटेर भागेका थिए । हिरासतको डण्डी काटेर भागे लगत्तै अनिल थापा र सुपा लामालाई प्रहरीले पक्राउ गर्न सफल भयो । थापा लागुऔषध मुद्दामा जेल परेका हुन् भने वाइवा, लामा र अर्का फरार रहेका एकजना मोटरसाइकल चोरी मुद्दामा जेल परेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

Facebook Comments