हङकङको अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारी ‘कब्जामा’
हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारी भरिएपछि उडान प्रभावित बनेकाे छ ।
सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान रद्द गरिएकाे छ ।
प्रदर्शनकारीले यात्रुहरूलाई सुरक्षा जाँच गर्नमा समेत अवरोध पुर्याएका थिए ।
हङकङमा प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’मा लिएर उडान नै ठप्प भएकाे याे पहिलाे घटना हाे ।
यसअघि प्रहरीले हान्दा एक जना महिला प्रदर्शनकारीको आँखामा चोट लागेपछि प्रदर्शनकारीहरू उत्तेजित हुँदै विरोधमा विमानस्थलभित्र छिरेका हुन् ।
यसअघि भने प्रहरी र विमानस्थलका अधिकारीहरूकाे समन्वयमा उनीहरू शुक्रबार पनि विमानस्थलभित्र छिरेर मागबारे यात्रुलाइ प्लेकार्ड वितरण गरी जानकारी गराएका थिए ।
सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको हङकङको प्रदर्शन अझै थप चर्कदैं गएकाे छ ।
आन्दोलन बढ्दै जाँदा चीनले प्रदर्शन नियन्त्रणमा लिन जनमुक्ति सेना परिचालन हुन सक्ने बताएकाे छ । चीन एक व्यवस्था दुइ प्रणाली अन्तर्गत राज्य सञ्चालन भइरहेकाे छ ।

