उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन सभापति कोइराला भिडियो सहित
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताउनु भएको छ । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उहाँको भनाई थियो । बचत तथा ऋण सहकारीले पनि अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति प्रदेश सरकारले बनाएको बताउदै उहाँले आफ्नै देशमा उत्पादन वृद्धि नगर्ने बेला सम्म बजार मुल्य वृद्धि रोक्न नसकिने बताउनु भयो ।
उत्पादन बढाउने काम सहकारीले गर्नुपर्ने र उत्पादन भएका बस्तुको बजारको जिम्मा सरकारले लिनु पर्ने उहाँको भनाई थियो । शनिबार लेखनाथमा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्था लिमिटेड एवं खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको तेस्रो साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि समेत रहनु भएका कोइरालाले सो कुरा बताउनु भएकोहो ।
कृषि अनुदानमा गण्डकी प्रदेशले ४० करोड भन्दा बढि अनुदान दिएको भन्दै अनुदान पाउनेहरुले उत्पादन गरेका छन् की छैनन त्यो निगरानी हामी सवैले गर्नु पर्ने बताउनु भयो । कोइरालाले कृषकले उत्पादन गरेका कृषि उपज कोल्ड स्टोरमा राख्ने ब्यवस्था सरकारले गर्ने बताउनु भयो । एक पालिका एक कोल्ड स्टोर कार्यक्रम सञ्चालन भइरहेको भन्दै पोखराको चाउथेमा पनि प्रदेश सरकारको साडे २ करोड र नीजि क्षेत्रको साढे चार करोड गरेर ७ करोड भन्दा बढिको लगानीमा कोल्ड स्टोर सञ्चालनमा आएको बताउनु भयो । योजना बनाएर काम गर्न आग्रह गर्नु भयो ।
जव योजना बनाएर काम गरिन्छ लक्ष्यमा पुग्नको लागि सोही अनुसार कार्य पनि हुन्छ भन्दै लेखनाथ क्षेत्र माछा पालनको लागि उपयुक्त ठाउँ भएकोले पनि माछापालन गरेर पोखरालाई आत्म निर्भर गराउन आग्रह गर्नुभयो । कतिपय ठाउँमा बोर्डमा स्थानीय माछा तर प्लेटमा अन्त्यैको माछा हुने गरेको भन्दै माछा उत्पादनमा जोड दिनु भयो । सरकारले सहकारीहरु लाई उत्पादनको क्षेत्रमा लाग्न प्रोत्साहन गरेकोले यस अबसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीले ताल संरक्षण संगै मत्स्यपालनलाई ब्यवस्थित बनाएर लैजान आफुहरु लागि परेको बताउनु भयो । कार्यक्रम ज्येष्ठ सदस्य तथा शेयर सदस्यका छोरा छोरी र उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।

