सरकारबाट जनता निराशः काँग्रेस नेता रिजाल
नेपाली काँग्रेसले कास्कीमा चुनावी प्रचारलाई तीव्रता दिएको छ ।
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर काँग्रेसले प्रचारलाई तीव्रता दिएको हो ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारका कारण जनता निराश भएको बताउनुभयो ।
उहाँले निराश जनतालाई उत्साहित बनाउन पनि उपनिर्वाचनमा काँग्रेस उम्मेदवारले जित्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ मा चुनावी घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधि रहनुभएका रिजालले भन्नुभयो, ‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन, उनीहरूलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्न सक्नुपर्छ ।’
नेता रिजालले काँग्रेसका उम्मेदवार कर्मठ र त्यागी नेता खेमराज पौडेललाई निर्वाचित गर्न मतदातासमक्ष आग्रह समेत गर्नुभयो ।
उहाँले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाको मतदाताले मुल्याकंन गर्ने अपेक्षा समेत व्यक्त गर्नुभयो ।
कास्कीमा पुराना नेता पौडेललाई काँग्रेसले उम्मेदवार बनाएको छ । यसअघिका निर्वाचनमा लगातार कम्युनिष्ट उम्मेदवारले जितेको क्षेत्र भएकाले काँग्रेसलाई यो क्षेत्र चुनौतिका रुपमा देखा परेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सोही क्षेत्रबाट ३ पटकसम्म निर्वाचनमा विजयी बन्नुभएको थियो ।

