पार्टी विभाजनको अवस्था आउनु दुःखदः विवेकशील साझा पार्टी

पार्टीका संयोजक उज्वलबहादुर थापाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएकोप्रति विवेकशील साझा पार्टीले आश्चर्य प्रकट गरेको छ । साथै सो पार्टीले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील रहेको जनाएको छ ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा पार्टीभित्र कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभेद रहेको उल्लेख गरिएको छ । पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको र यही ३० गते बैठक बस्ने र छलफल गर्ने तय भएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीलाई नागरिकका तर्फबाट आशा र विश्वासका हेरिरहेको अवस्थामा विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पनि प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ ।’ यस धोकाको इतिहासले मुल्याकंन गर्ने भन्दै यात्राका दौरान आएको अवरोध मान्दै गति अगाडि बढाउने पनि विज्ञप्तिमा जनाइएको छ ।

पौष ३० गते केन्द्रिय समितिको बैठक बस्ने र समग्र राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्ने पनि विवेकशील साझा पार्टीले जनाएको छ ।

Facebook Comments