पोखरा महोत्सवः अर्गानिक कृषि उत्पादनमा दर्शकको चासो

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकहरुले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन । गाइभैसीको मलमा उत्पादन गरिएका कृषि जन्य सामाग्री उपभोग गर्ने क्रम वढिरहदा पोखरा महोत्सवमा राखिएको अर्गानिक कृषि उत्पादनलाई महोत्सवमा आउने दर्शकहरुले रुचाएका हुन ।

बांसटारी अर्गानिक कृषि फर्म पोखरा ५ पस्र्याङबाट उत्पादन गरिएका कृषि जन्य सामाग्री किन्न महोत्सवमा आउनेको भीड नै लाग्ने गरेको छ । फर्मबाट उत्पादन गरिएका साग, काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, लसुन, प्याज, धनिया, अदुवा, लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लागेको महोत्सव अर्थ स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

पोखरा महोत्सव मनोरन्जनमा मात्र नभइ स्थानिय उत्पादनहरुको प्रवद्र्धनका लागी समेत भएकाले आफुहरुले कृषीजन्य बस्तुलाई बिक्री वितरणलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
महोत्सवमा माघे सक्रान्तिलाई लक्षित गरी घर तरुल , बन तरुल र सखरखण्ड समेत बिक्रीका लागी राखेका छन ।

महोत्सवमा आउने दर्शकलाई अर्गानिक कृषि संगै अर्गानिक खाना र गाउले स्वाद चखाउने उद्देश्यले राखिएको होम स्टेले समेत दर्शकको मन तान्न सफल भएको छ । महोत्सव स्थलमा राखिएको पोखराको लेखनाथमा निर्माणधिन चिडियाखानाको स्याण्ड मोडेलले समेत दर्शकलाई आकर्षित पार्न सफल भएको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले जानकारी दिनुभयो ।

महोत्सवको दोश्रो दिन चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा महोत्सवमा आउने दर्शकले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेश्रो दिन आइतबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरी ढुंगाना लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा तनहु र पर्वतको दोहोरी घम्साघम्सी रहने आयोजकले जनाएको छ । त्यसैगरी आइतबार सांझ लाइभ कन्सर्ट तर्फ अन्तराष्ट्रिय ख्याती प्राप्त ब्याण्ड पुष्पन प्रधानको ब्याण्डको प्रस्तुती रहनेछ भने गुरुङ संस्कृतीमा प्रचलित रोधीलाई सल्यान खनडांडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

Facebook Comments