पृथ्वीचोकमा पुन: लखन थापाको सालिक राखियो
पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापामगरको पूर्ण कदको शालिक राखिएको छ । मंगलबार साँझ क्रेनको सहायताले सालिक राखिएको हो । सो स्थानमा रहेको आइल्याण्डले बाटो साँघुरो भएको भन्दै केही महिना पहिले आइल्याण्ड भत्काउँदा लखन थापाको सालिक पनि हटाइएको थियो ।
जनजाति समुदायले थापाको सालिक पुर्नस्थापनाको माग राख्दै आन्दोलन गरेपछि पोखरा महानगरपालिकाले सालिक राख्ने सहमति गरेको थियो ।

तर महानगरले भने एउटा व्यवस्थित पार्क बनाई विभिन्न समयका ऐतिहासिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुको सालिक राख्ने बताउँदै आएको थियो । पृथ्वीचोकमा ०६२÷०६३ सालको जनआन्दोलनपछि पृथ्वीनारायण शाहको सालिक तत्कालीन माओवादी कार्यकर्ताले तोडफोड गरी फालिदिएका थिए ।
जहानीयाँ राणा शासनको विरोधमा लखन थापामगरले विद्रोह गरेपछि झुण्ड्याएर मारिहएको थियो । १९३३ फागुन २ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा थापालाई मारिएको थियो ।
लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं. २०५६ मा सहिद घोषणा गरेका थियो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गरिएको थियो ।
तस्विर सुदर्शन रन्जित

