भिमाद नगरपालिकालाई ‘रुपा अध्यक्ष कप’ प्रादेशिक भलिबलको उपाधि
कास्की जिल्लाको रुपा गाउँपालिकाले आयोजना गरेको प्रादेशिक ‘प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ ।
फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबा सम्पन्न भएको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१को सोझो सेटमा पराजित गरी भिमाद नगरपालिकाले उपाधि सहित नगद रु. एक लाख तथा ट्रफी हात पार्न सफल भएको हो ।

उपविजेजता बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नगद रु. ७० हजार तथा तृतीय घिरिङ गाउँपालिका तनहुँले नगद रु. ५० हजार तथा सान्त्वना स्थान हासिल गरेको पोखरा महानगरपालिकाले रु. २० पुरस्कार पाए । आयोजक रुपाले अनुशासित टीमको उपाधि प्राप्त गरी नगद रु. १० हजार प्राप्त गर्न सफल भयो । ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशका प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भिमादका निर्मल शाही ठकुरी, स्पाईरक काली गण्डकीका हरि पाण्डे, ब्लकर भिमादका मिलन राना, सर्भर घिरिङका मीलन चन्द ठकुरी, सेटर भिमादका विवश आले तथा लिब्रो काली गण्डकीका पोलसिँह राना बन्न सफल भई जनही नगद रु तीन हजार तथा ट्रफी पाए ।

त्यस्तै वडास्तरीय झाँकी प्रतियोगिताको उपाधि वडा नं ५ मा रहेको फेदी नेवा साँस्कृतिक गूठीले जितेको छ । शान्ति रुपा तमु समाज, वडा नं ६ द्धितीय, वडा नं ३ को नेपाल कुमाल समाज सुधार समिति तृतीय र चिसापानी जलकुमारी आमा समूह वडा नं ६ ले सान्त्वना स्थान हासिल गरी नगद क्रमशः रु.२०, १५, १० तथा पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा २८ वटा साँस्कृतिक टिमले सहभागिता जनाएका थिए ।
भलिबल तथा झाँकी प्रतियोगितको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्कीका प्रमूख बैनबहादुर अधिकारी क्षेत्री, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुवा गुरुङ तथा पूर्व गाविस अध्यक्ष टीकारम पँगेनी लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा राष्ट्रिय भलिबल टिमा क्याप्टेन रुपा गाउँपालिकाका इम रानामगरलाई सम्मान गरिएको थियो ।

