राष्ट्रिय अखण्डता विरुद्ध लाग्ने जो कोहीलाई कार्वाही : महान्याधिवक्ता

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकको अखण्डता, राष्ट्रिय एकताको विरुद्धमा लाग्ने जो कोहीलाई कार्वाही गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

महान्यायाधिबक्ता खरेलले सिके राउतप्रति इंगित गर्दै सरकारसँग सहमति गरेपछि पुनः यसअघिकै गतिविधि दोहोरिएकोप्रति आपत्ति प्रकट गर्नुभयो । नेपालको गौरवशाली इतिहास तथा अखण्ड नेपालको इतिहासलाई कसैले पनि तलमाथि गर्न नसक्ने खरेलको चेतावनी थियो ।

राज्यले गरेका सम्झौंतालाई गलत व्याख्या गर्दै अनुचित राजनीतिक फाइदा लिन खोजेमा जो कसैलाई पनि राज्यले आवश्यक कार्वाही गर्ने बताउनुभयो । न्यायालयको उद्देश्य अन्यायमा परेका मानिसलाई न्याय दिनु, न्यायपूर्ण समाज निर्माण गर्नु, मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्नु नै रहेको खरेलको तर्क थियो ।

न्याय सम्पादनका क्रममा अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी सबैले मिलेर कार्य गर्नुपर्ने बताउनुभयो । अपराध अनुसन्धानमा वा अधियोजनमा चुकेमा न्याय सम्पादनमा नै गम्भीर त्रुटी हुन सक्ने भएकाले सबैले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्नुपर्ने खरेलको भनाई थियो ।

Facebook Comments