कोरियन भाषा परीक्षा आगामी जेठमा हुने, १० हजार ५० नेपाली लैजाने
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको हो । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ ।
दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने जनाइएको छ ।
यसैविच यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको हो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

