बाढी पहिरो प्रभावितलाई स्थानीय तह मार्फत् राहत वितरण गरिने

अबिरल बर्षासंगैको बाढी र पहिरो प्रभावितहरुलाई स्थानीय सरकार मार्फत नै राहत वितरण गरिने भएको छ । शनिबार केन्द्रीय विपद् व्यवस्थापन बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी स्थानीय तह मार्फत राहत वितरण गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाकाृ अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्य समितिको बैठकले प्रदेश सरकारसंग समन्वयन गरी राहत वितरण गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गरिनेछ ।

बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि केन्द्र सरकारको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरि स्थानीय सरकारबाटै वितरणको व्यवस्था मिलाउने भनेको छ ।

तत्काल उपलब्ध ड्राईफुडहरु वितरण गर्न निर्देशन जारी गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिनुभयो । गृहसचिव राइका अनुसार कुटनीतिक पहल गरी भारतीय सीमा क्षेत्रमा रहेका बाँध खोलिएपछि पानीका सतह घट्दै गएको छ ।

सरकारले बर्षा नरोकिए अझै ठुलो क्षति पुग्न सक्ने तर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहमन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकमा बर्षा संगै कमला नदीको तटबन्धमा ढोका नलगाएका कारण खोला छिर्दा सिरहामा डुबान भएको, रौतहटको गौरमा भने भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले र बागमतिको बाँधलाई नाघेर पानीको सतह माथि आएकाले सर्लाहीमा डुबान भएको निष्कर्ष निकालिएको छ ।

२६ को मृत्यु, ४ सय ३५ घरपरिवार प्रभावित

बर्षा संगैको बाढी पहिरोका कारण अहिले सम्म २६ जनाको मृत्यु भईसकेको र १५ जना अहिले पनि बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । बाढीको चपेटामा परि ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments