प्राकृतिक पोखरा रंंगशाला बन्नुपर्छः सदस्य सचिव सिलवाल
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताउनुभएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भन्नुभयो, ‘पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै हुनुपर्छ । आर्टिफिसियल मैदान बनाउने होइन । मैले प्राविधिकहरुसँगको छलफलमा त्यही किसिमले निर्देशन दिएको छु ।’
आफू जागिर खानका लागि सदस्य सचिव नबनेको बताउँदै सिलवालले अगाडिको साग गेम नै आफ्नो लागि अग्नी परीक्षा भएको प्रष्ट पार्नुभयो । खेलकुदको क्षेत्रमा रहेको समस्यालाई समाधान गरेरै छाड्ने उहाँको जिकिर थियो । स
उहाँले लामो समयदेखिको क्रिकेट विवादलाई शिघ्र समाधानका लागि पहल गर्ने बताउनुभयो । ‘क्रिकेट विवादका लागि समाधानको लागि समिति बनिसकेको छ,’ उनले भन्नुभयो, ‘केही मान्छेहरु क्रिकेटलगायत खेलकुदको जीवन नै भाँड्ने कार्यमा लागेका छन् । खेलकुदको भविष्य विगार्ने छुट कसैमा छैन । अदालतले पनि यसबारे छिटो न्याय दिनुपर्छ । ढिला न्याय दिनु भनेको अर्को अन्याय हो । यसका लागि अदालतसम्म पनि हाम्रो प्रयास रहन्छ । आइसीसीसम्म पुगेर क्रिकेट विवाद समाधान गर्छौ ।’
केन्द्र, प्रदेश र स्थानीय पालिकाबीचको संयोजन फितलो भएका कारण उनले खेलकुदको विकास हुन नसकेको प्रष्ट पारे । सिलवालले भन्नुभयो, ‘अब खेलकुदलाई केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जोडिन्छ ।’
उहाँले साग गेमका लागि खेलकुदको भौतिक पूर्वाधार र खेलाडीहरुको व्यवस्थापन पहिलो प्राथमिकतामा पर्ने जानकारी दिनुभयो । उहाँले खेलकुदको मैदान तयारीदेखि खेलाडीहरुको व्यवस्थापनमा ध्यान दिने उल्लेख गर्नुभयो ।
साग गेमका लागि इन्डिभिजूअल गेमहरुको प्रशिक्षण शुरु भइसकेको र टिम ईभेन्टका गेमहरुको पनि छिट्टै प्रशिक्षणको थालनी गर्ने बताउनुभयो ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव राजाराम पौडेलले संचालन गर्नुभएको थियो ।

यसअघि, भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै सिलवालले साग गेमको तीन महिना अघि नै पोखरामा भौतिक पूर्वाधार बनिसक्ने बताउनुभयो ।
‘१३ औं सागका लागि विशेषगरी आफ्नो ध्यान पोखराको भौतिक पूर्वाधारमा हुनेछ,’ उहाँले भन्नुभयोे, ‘साग गेम शुरु हुने तीन महिना अघि नै यहाँको रंगशाला बन्नेछ ।’
तस्वीर सुदर्शन रन्जित

