प्रचण्डको परिवारको विदेशका कुनै बैंकमा खाता रहेको पुष्टी गर्न सचिवालयको चुनौति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र निजका परिवारका सदस्यको नाममा विदेशका कुनै पनि बैंकमा खाता नरहेको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डको हालै भएको दुवई भ्रमणबारे भ्रम फैलाइएको भन्दै स्वकीय सचिवालयले विज्ञप्ति मार्फत् आपत्ति जनाएको छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा (प्रताप)को हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तीमा विज्ञप्तीमा उनले प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुवईमा २१ अर्व रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न प्रचण्ड परिवार दुवई गएको भनेर गलत प्रचार गरिएको उल्लेख छ ।

यस्ता षडयन्त्रपूर्ण र झुठो प्रचार गर्ने तत्वहरुलाई तत्काल कारवाही गर्न सरकारसँग विज्ञप्ति मार्फत् माग समेत गरिएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुवईमा २१ अर्व रुपैयाँ रहेको र त्यसको व्यवस्थापनका गर्न प्रचण्ड परिवार दुवई गएको सामग्री सार्वजनिक भएका थिए ।

स्वर्गीय प्रकाश दाहालको विदेशका कुनै पनि बैंकमा खाता र पैसा नरहेको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा भनिएको छ, ‘हामी दिवंगत प्रकाशको नाममा विदेशका कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिन्छौँ ।’

Facebook Comments