विद्युत प्राधिकरण लगातार ३ बर्ष नाफामा, सञ्चित नोक्सानी १५ अर्ब १३ करोड


नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्षमा १४९ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । लगातार घाटामा रहेको प्राधिकरण यसअघिका २ बर्ष पनि नाफामा रहेको थियो ।

विद्युत प्राधिकरणले आर्थिक बर्ष ०७५/७६मा ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । कुलमान घिसिङले नेतृत्व सम्हाले लगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

घिसिङ २०७३ भदौमा कुलमान कार्यकारी निर्देशकमा रुपमा प्राधिकरणमा प्रवेश गर्दा प्राधिकरणको घाटा बार्षिक ८ अर्ब ८९ करोड थियो ।

घिसिङ नेतृत्वमा आएपछि आर्थिक बर्ष ०७३/७४मा १ अर्ब ४६७ करोड र आर्थिक बर्ष २०७४/७५ मा २ अर्ब ८५ करोड नाफा गर्न प्राधिकरण सफल भएको हो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ ।

लगातार नाफामा गएपनि विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोड रहेको छ । २०७३ असार मसान्तसम्म प्राधिकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।

प्राधिकरणले अबको २ बर्षभित्रमा सञ्चित नोक्सानी शुन्यमा झार्ने रणनीतिका साथ काम गरिरहेको छ ।

यसअघि प्राधिकरण उच्च घाटामा गएपछि आव ०६७/६८मा सरकारले त्यतिबेलासम्मको सबै सञ्चित नोक्सानी २७ अर्ब १८ करोड रुपैयाँ मिनाहा गरेको थियो ।

Facebook Comments