हङकङमा प्रदर्शन हिंसात्मक र खतरनाक अवस्थामाः कार्यकारी प्रमुख लाम

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शन हिंसात्मक र खतरनाक बन्दै गएकाे टिप्पणी गर्नुभएकाे छ ।

साथै उहाँले हङकङ सहरलाई ‘पातालतर्फ नधकेल्न’ प्रदर्शनकारीलाई चेतावनी समेत दिनुभएकाे छ । हालैका दिनमा भएका प्रदर्शनका कारण हङकङमा भएकाे क्षति रिकभर गर्न बर्षाैं लाग्ने समेत प्रमुख लामले उल्लेख गर्नुभएकाे छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी प्रमुख लामले प्रदर्शनका कारण हङकङ ‘खतरनाक अवस्थामा’ पुगेको भन्दै प्रदर्शनका क्रममा भएका हिंसाले सहरलाई पातालतर्फ धकेलेको टिप्पणी गर्नुभयाे ।

प्रदर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएर अवरोध सिर्जना गरेका कारण सयाैं विमानकाे उडान रद्द भएकाे थियाे । मंगलबार पनि प्रदर्शनकारीले विमानस्थलमा अवराेध पुर्याउन खाेजेकाे बताइन्छ ।

कार्यकारी प्रमुख लामले सरकार संयमित भएकाे र स्थिति नियन्त्रणमा लिन सफल रहेकाे बताउनुभएकाे छ ।

नियय–कानुनअनुसार सहरलाई सुरक्षित र अर्थ व्यवस्था सुदृढ बनाउने आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताउनुभयाे ।

निकै भावुकरुपमा प्रस्तुत हुँदै लामले हङकङवासीलाई आफ्ना मतभेद एक ठाउँमा राखी सहरकाे भविष्यबारे साेच्न आग्रह समेत गर्नुभयाे ।

साेमबार धर्नामा बसेका सयौं प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू विमानस्थलबाट बाहिर निक्लिएपछि विमानस्थल पुनः सन्चालनमा आएको छ ।

हङकङमा विगत २ महिना यता प्रदर्शन भइरहेको छ । सुरुमा विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै भएको प्रदर्शनले अहिले सरकारविरोधी प्रदर्शनको रुप लिएको छ ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments