अझै १० बर्ष सक्रिय राजनीति मार्फत् जनताको पक्षमा काम गर्छु : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सक्रिय राजनीति गर्ने समय एक दशकमात्र रहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले सक्रिय राजनीति, समाजसेवा वा जनताको पक्षमा काम गर्ने समय एक दशकमात्र रहेको बताउनुभयो ।

आफू जीवनको उत्तरार्धमा रहेको भन्दै प्रचण्डले अब सक्रिय रुपमा राष्ट्रको सेवा गर्ने एक दशक समय रहेको उल्लेख गर्नुभयो । यद्यपि मानिसको जीवनको कुनै भर नहुने उहाँको भनाई थियो ।
आफ्नो र देशको जीवनमा हरेक १० वर्षमा ठूला ठूला परिवर्तन भएको भन्दै प्रचण्डले अबको १० वर्ष देशको समृद्धि र जनताको जीवनमा सकारात्मक आर्थिक परिवर्तन ल्याउन प्रयत्न गर्ने बताउनुभयो । मुलुकमा अहिले धेरै सकारात्मक परिवर्तन भएको भन्दै प्रचण्डले परिवर्तनलाई दिगो बनाउनुपर्ने बताउनुभयो । परिवर्तनले जनताको सामाजिक आर्थिक जीवनमा सकारात्मक परिवर्तन गरेमा मात्र यसको अर्थ हुने प्रचण्डको भनाई थियो ।
जनताको पक्षमा काम नभएमा कांग्रेस वा कम्युनिस्ट कुनै पार्टीको पनि महत्व नहुने प्रचण्डले उल्लेख गर्नुभयो । कुन पार्टीले कस्तो साइनबोर्ड राखेको छ भन्ने कुराको कुनै अर्थ नहुने तर राष्ट्रलाई, जनतालाई कसले के दियो सामाजिक रुपान्तरणमा कसले के दियो भन्ने कुराले अर्थ राख्ने प्रचण्डको भनाई छ ।
विगतमा द्वन्द र सरकार परिवर्तन भइरहने अवस्था नरहेको भन्दै प्रचण्डले यो स्थिर राजनीतिक अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस अवसरलाई सदुपषेग गर्न नसकेमा ठूलो दुर्घटना हुने पनि प्रचण्डको भनाई थियो । जनताप्रति इमान्दार नभएमा कुनै पनि पार्टी र नेताको औचित्य समाप्त हुने प्रचण्डले उल्लेख गर्नुभयो ।

