पोखरा महोत्सवमा दर्शक सहभागीता बढ्दै

पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव जारी रहेको छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य दर्शकले सहभागीता जनाइरहेका छन । महोत्सवमा सहभागी संगै लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा जानेको संख्यामा पनि बृद्धि भएको छ ।

महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थलबाट जंगलको झल्को दिने गरी सिंगार पटार गरिएको बसबाट आइतबार मात्र ७० जनाले निशुल्क जुलोजिकल पार्कको अवलोकन गरि फर्केको यातायात ब्यवस्थापन उपसमिती संयोजक श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा विशेष गरी कृषि, दैनिक उपभोग्य सामाग्री तथा जाडो यामका सामाग्रीहरुको बिक्री वितरण भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो । आइतबार महोत्सवमा चर्चित लोकदोहोरी त्यसमा पनि गण्डकी प्रदेशमा ख्याति प्राप्त सालैजो गीतका गायक राजु गुरुङको सालैजो प्रस्तुती रहेको थियो । त्यसैगरी लाइभ कन्सर्ट तर्फ अन्तराष्ट्रिय ख्याती प्राप्त ब्याण्ड पुष्पन प्रधानको ब्याण्डको प्रस्तुती रहेको थियो ।

प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा लम्जुङ र कास्की बिचको दोहोरी घम्साघम्सीमा कास्की विजयी भएका अघिल्लो चरणमा प्रवेश गरेको छ । महोत्सवमा सोमबार बद्री पंगेनी, जीवन दाहाल, रामजी पौडेल, करन तामाङ, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, विश्चल दवाडी लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

लाइभ कन्सर्टतर्फ लोक ब्याण्ड प्रश्न र ख्यातिप्राप्त ब्याण्ड मंकी टेम्पलको प्रस्तुती रहने छ भने हास्यब्यङ्ग्य तर्फ अर्जुन (पाँडे) र कुमार (जिग्री)को पस्तुती रहने छ । झांकी प्रदर्शनी तर्फ रामबजार पुन समाजको मौलिक सोरठी नृत्यको प्रत्यक्ष प्रस्तुती रहने छ ।

Facebook Comments