पछिल्लो राजनीतिक मार्ग नै गलत : राप्रपा अध्यक्ष थापा(भिडियाे)
राज शर्मा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक मार्गचित्र नै गलत भएकाले मुलुक असफल बनिरहेको बताउनुभएको छ । उहाँले परम्परागत र परिवर्तन पक्षधर त्यसमा विप्लव नेतृत्वको माओवादी समेतको फ्युजनबाट मात्र मुलुक सफल हुने बताउनुभयो ।
पोखरामा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । जनतालाई हिन्दु राष्ट्र, राजतन्त्र पुनःस्थापना, गरिवी निवारणका सवालमा जागरुक बनाउन र सरकारलाई दवाव दिनका लागि मेची महाकाली स्वाभिमान यात्रा गरिएको अध्यक्ष थापाको भनाई रहेको छ ।
अध्यक्ष थापाले सिके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमति मुलुकको हित विपरीत रहेको बताउनुभयाे । उहाँले सम्झौताको दस्तावेजमा स्वतन्त्र मधेस गठबन्धनलाई अलग राज्यको मान्यता दिने जस्तो भाषा प्रयोग भएकाले त्यसलाई तत्काल सच्याउन माग गर्नुभयाे ।
विप्लव नेतृत्वको माओवादीले हिंसात्मक बाटो छाड्नुपर्ने र सरकारले दमनको नीति त्याग्नुपर्ने सुझाव थापाले दिनुभएको छ । साथै सो पार्टीलाई प्रतिबन्ध लगाएर दमन गरेर नभई वार्ता र संवादबाट नै समस्या समाधान खोज्नुपर्ने बताउनुभयो ।
यसका साथै राप्रपाले फागुन मसान्तभित्रमा हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना सहितका आफ्ना माग पुरा नभए आन्दोलन गर्ने जनाएको छ । पार्टी घोषणापत्रमा नेपाल बन्द नगर्ने भनिएपनि राज्यले दमन गरेमा आन्दोलनका स्वरुप बदलिन सक्ने अध्यक्ष थापाको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘राज्यले शान्तिपूर्ण आन्दोलनमा दमन गरेमा नेपाल बन्द नगर्ने निर्णय पुर्नविचार पनि हुन सक्छ ।’ चैत्रको पहिलो हप्ता बस्ने केन्द्रीय समितिको बैठकले जनसंघर्षको कार्यक्रम तय गर्ने थापाले उल्लेख गर्नुभयो । जनताले स्वस्र्फूत रुपमा अभियानमा एक्वेबद्धता प्रदर्शन गरेकाले स्वाभिमान यात्राले जनसंघर्षका लागि माहोल सिर्जना गरेको उहाँको दावी थियो ।
ठूला भ्रष्टाचारमा काँग्रेस कम्युनिष्टका शीर्ष नेता नै संलग्न
अध्यक्ष थापाले ठूला भ्रष्टाचारका मुद्दामा काँग्रेस र कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई नै संलग्न गराएर हुने गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकमानसिंह कार्कीलाई महाअभियोग लगाइनुमा ठूला पार्टीका ठूला नेतालाई कार्वाह गर्ने तयारी गरेकाले नै रातारात महाअभियोग लगाइएको हो ।’

