रिभानचौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवारको रजतजयन्ती
रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीले विविध कार्यक्रम गरीे रजतजयन्ती मनाएको छ। पोखरा २५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीको नाथु प्रल्हाद स्मृति भवनमा फागुन २७ गतेबाट शुरु भएको तीनदिने रजतजयन्ती कार्यक्रम बुधवार सहयोगी चेलीबेटी सम्मान, जनप्रतिनीधिहरुलाई सम्मान, शुभकामना मन्तव्य, इन्द्रेणी कार्यक्रममा कलाकारहरुको दोहोरी प्रस्तुतिसहित भोज गरी रजत जयन्ती सम्पन्न गरिएको हो।
सोमवार र मंगलवार स्मृति भवनमा प्रतिस्थापन गरिएको सुब्बा नाथु, सुब्बा प्रल्हादको शालिक अनावरण, झण्डोत्तलन, रजतजयन्तीको अवसरमा प्रकाशित स्मारिका विमोचन, परिवारका संस्थापकहरुलाई सम्मान, परिवारमा लामो कार्य गरेका महानुभावहरुलाई दीर्घ सेवा सम्मान, शुभकामना आदानप्रदान, एबीसी टेलिभिजनमा प्रसारण हुने इन्द्रेणी कार्यक्रमका कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुतिसहित रिभान र चौर गाँउको इन्द्रेणी समुहले छाँयांकन समेत गरेको परिवारका अध्यक्ष अनरेरी क्याप्टेन डम्बरबहादुर गुरुङले जानकारी दिनुभयो।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी मञ्जुदेवी गुरुङले बीर सुब्बा नाथु, सुब्बा प्रल्हादको सन्ततीहरुलाई बीरताको आत्मसम्मानका साथ अग्रगतिको शुभकामना व्यक्त गर्नुभयो। आफ्नो पनि बुढो मावली रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार नै भएकाले पैंगिलामासँग भावनात्मक मात्रै नभएर पारिवारिक सम्बन्ध रहेको बताउनुभयो।उहाँले आमा दिदी बहिनीहरु सचेत हुनुपर्दछ भन्नुहुदै पोखरा महानगरपालिकाले महिलाहरुलाई शसक्तिकरण गर्नका लागि उपमेयरसँग महिला कार्यक्रम अघि बढाएको बताउनुभयो।
यसरी नै महिलाहरुलाईलाई निशुल्क कानुनी सेवा प्रदान गर्न महानगरमा कानुनी सेवा कक्ष नै संचालनमा रहेकाले कहि कतै कानुनी समस्या रहेमा महानगरमा आउनका लागि आग्रह गर्नुभयो। यसरी नै मानविय एवं सामाजिक सेवाका लागि अपांगताको परिचय पत्र वितरणदेखि विभिनन ८ वटा रोग लागेका आर्थिक अवस्था कमजोर रहेकाहरुलाई उपचार सहयोग प्रदान गर्ने कार्य आफ्नै संयोजकत्वमा हुदै आएकाले महानगरबाट प्रदान हुने सेवा आमा दिदिवहिनीहरुले बुझ्नु र लिनु पर्ने उहाँको जोड थियो।
रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीका अध्यक्ष अनरेरी क्याप्टेन डम्बरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ज्वाईहरुको तर्फबाट पुर्व जिविस सभापती कमलमान गुरुङ, माछापुच्छ्रे गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष पुर्णबहादुर शाही, रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार युकेका अध्यक्ष चकबहादुर गुरुङ लगायतले परिवारको रजतजयन्तीको शुभकामनाका साथ बीर पुर्खाहरुलाई राज्यले सम्मान गर्नुपर्ने मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष अनरेरी क्याप्टेन डम्बरबहादुर गुरुङले स्वागत मन्तव्य र महासचिव यामबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

उक्त कार्यक्रममा जनप्रतिनीधि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ र माछापुच्छ्रे गाउपालिका वडा नं. ४ का वडाअध्यक्ष पुर्णबहादुर शाहीलाई परिवारका तर्फबाट सम्मान गरिएको थियो। यसरी नै रजतजयन्तीमा सहयोग गर्ने चेलीबेटीहरुलाई माइती परिवारको तर्फबाट सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो।
कार्यक्रममा रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्की आमा समुहले स्वागत गीत प्रस्तुत गरेको थियो भने कृष्ण कँडेलको नेतृत्वमा रहेको इन्द्रेणी समुहले दोहोरी गीत प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जनका साथै नचाएका थिए।

