फेसबुकलाइ ५ अर्ब अमेरिकी डलर जरिवाना

अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्।

फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ। एसटीसीमा यस सम्बन्धमा मतदान हुँदा ३-२ मतले फेसबुकको जरिबाना तय भएको बताइएको छ।

एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको अनुसन्धानमा फेसबुकले सन् २०११ को एउटा सहमति भङ्ग गर्यो कि गरेन् भन्नेमा केन्द्रित थियो। सो सहमतिमा फेसबुकले तथ्याङ्क अरूलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ।

द वाल स्ट्रीट जर्नलमा प्रकाशित समाचार अनुसार एफटीसीमा सत्तारूढ रिपब्लिकन समर्थकहरूले फेसबुकलाई पाँच अर्ब डलर जरिबाना लगाउनुपर्ने पक्षमा र डेमोक्र्याटहरू विपक्षमा रहेका थिए।

अन्य समाचारमा प्रयोग भएका स्रोतहरूले पनि सोही जानकारी प्रदान गरेको बताइएको छ।

फेसबुक

सो जरिवाना न्याय मन्त्रालयले स्वीकृत गर्नुपर्ने र त्यसको लागि लाग्ने समय अस्पष्ट भएको जनाइएको छ।

तर जरिवाना रकम फेसबुकले अनुमान गरेकै जति छ। फेसबुकले अप्रिलमा आफ्ना शेयरधनीहरूलाई ठूलो जरिबानाको लागि त्यति नै रकम छुट्टाएर राखेको बताएको थियो।

यो स्वीकृत भएको अवस्थामा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिबाना हुनेछ। फेसबुकका लागि भने यो रकम वार्षिक नाफाको एक चौथाइभन्दा केही धेरै हो।

बिबिसीबाट

Facebook Comments