साझा पार्टीकाे कास्की र पाेखरा महानगर संयाेजक चयन
साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन हुनुभएकाे छ ।
शनिबार एक कार्यक्रमका बीच खनाललाई जिल्ला संयोजक र गुरुङलाई महानगर संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो।
कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गर्नुभएकाे हाे ।
साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताउनुभयाे ।

पार्टीको संगठनलाई तल्लाे तहबाट नै बलियाे बनाउँदै लैजान प्रयास गर्ने खनालकाे भनाइ छ ।
त्यस्तै साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने बताउनुभएकाे छ ।
कास्की क्षेत्र नं. २ मा हुने उप निर्वाचनको क्रममा पार्टीको बलियो उपस्थिती देखाउने गुरूङकाे दावी थियाे ।

संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि संयोजक घोषणा गर्ने कार्यक्रम रहेकाे छ ।
यही क्रममा आगामी असोज ३ गते पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जानकारी दिनुभयाे ।

